
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।
विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन शुरू हुने दिन आइतवार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।
मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर जसपाका ४ सांसद मन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।
