
कञ्चनपुरमा लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले शनिवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागूऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।
हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
यसैगरी रानालाई से१प ५०१८ नम्बरको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा ३ दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।