१७ असार २०८३, बुधबार

गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

बैशाख १९, २०७८
गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकालाई २ वटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ ।

१४ वटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई ७/७ वटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी २ वटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो ।

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरूकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर २ वटा बनाउने निर्णय गरिएको हो ।

गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नम्बर वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले जानकारी दिए । उनका अनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नम्बर वडासँगै १० देखि १४ नंसम्मका वडाहरू रहनेछन् ।

१२ नम्बर वडामा रहेको जाजरबाङ गाउँलाई १३ नम्बर वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ । सिस्ने गाउँपालिका १ र २ नम्बर वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नम्बर वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लले बताए ।

गाउँसभाबाट २ वटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै संघमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ । स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा १ वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ ।

पुथाउत्तरगङ्गा गाउँपलिकालाई २ टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ ।

अहिले रुकुम पूर्वमा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा ३ वटा गाउँपालिका रहेका छन् । स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुम पूर्व सबैभन्दा सानो जिल्ला हो । 

salt training

कमेन्ट गर्नुहोस्