२१ जेठ २०८३, बिहीबार

यसकारण ममतालाई हराउन भाजपा भयो विफल

बैशाख १९, २०७८
यसकारण ममतालाई हराउन भाजपा भयो विफल

पश्चिम बंगालमा तृणमूल कांग्रेसको प्रभावशाली विजयलाई भारतीय जनता पार्टीको पराजयका रूपमा हेरिनेछ किनकि भाजपाले ममतालाई सत्ताच्युत गर्नका लागि भएभरको शक्ति लगाएको थियो । 

अघिल्लो विधानसभा निर्वाचनमा जम्मा तीन सीट जितेको भाजपाले यसपालि ८० भन्दा बढी सीट जित्ने अपेक्षा गरिएको छ तर त्यति सीट ल्याउने हकदार पनि ऊ हैन । 

भाजपाको हारमा तीनवटा कारक तत्त्व देखिन्छन् । भाजपाको कुनै पनि शक्तिशाली स्थानीय नेता थिएन । उसले यो निर्वाचनमा ममता बनर्जीको विरोधमै जोड दियो र नकारात्मक अभियान चलायो । 

निर्वाचनलाई बाहिरिया र बंगालकी छोरीबीचको लडाइँका रूपमा प्रस्तुत गरेर ममता बनर्जीले सुझबुझ देखाइन् । आफूलाई बाहिरियाहरूले तारो बनाएको र बंगाली अस्मिताको रक्षा आफूले गर्ने भनी उनले प्रस्तुत गरिन् । त्यसले गर्दा बंगालीहरूले उनलाई खुलेर भोट दिए । 

क्षेत्रीय गौरवकै नारा दिएर नरेन्द्र मोदीले गुजरातमा लगातार चुनाव जित्ने गरेका थिए । ममताले त्यही विधि अपनाइन् अनि उनलाई चुनौती दिने क्षेत्रीय नेता नै भएन । राष्ट्रिय स्तरका नेताहरूले आएर बंगालमा विधानसभा चुनाव जिताउन गाह्रो हुन्छ ।

दोस्रो, भाजपासँग बंगाललाई दिने गतिलो सन्देश नै थिएन । ममता बनर्जीले महिलाको हित गर्ने कल्याणकारी योजना लागू गरेकी थिइन् जसरी मोदीले राष्ट्रिय स्तरमा उज्ज्वला, जनधन लगायत योजना लागू गरेका थिए । मोदीलाई महिला मतदाताले मन पराउने गरेकोमा पाठ सिकेर बंगाल भाजपाले पनि चुनावमा महिलाका लागि कुनै योजना ल्याउनुपर्थ्यो तर ल्याएन । फलस्वरूप, मौन मतदाता भनिने महिलाले भाजपालाई भन्दा ममतालाई नै पत्याए । 

तेस्रो, भाजपाले मतदाताहरूलाई आफ्नो पक्षमा एकजुट पार्न सकेन । भाजपाले हिन्दू भोट सोहोर्न नसक्दा तृणमूलले अल्पसंख्यकहरूको भोट एकत्रित रूपमा आफ्नो पक्षमा पार्न सकेको थियो । 
कांग्रेस र वामपन्थीहरूको सबै भोट खर्लप्पै तृणमूललाई गयो । मुसलमानहरूले तृणमूललाई भोट दिए भने शहरी क्षेत्रका हिन्दूहरूले पनि भाजपालाई पत्याएनन् । 

सत्तारूढ दलविरुद्धको लहर बंगालमा छ भन्ने गलत आकलन गरेकाले पनि भाजपाको हार भएको हो । ममताको कामलाई जनताले मन पराएका रहेछन् भन्ने कुरा चुनावले पुष्टि गरिदियो । 

भाजपाले अल्पसंख्यक समुदायलाई पनि आफ्नो पक्षमा ल्याउन प्रयास गर्नुपर्छ । उनीहरूलाई चिढ्याउने गरी आक्रामकता देखाउने भन्दा पनि मोदीकै जस्तो सब का साथ, सब का विकास फर्मुलालाई अघि बढाउनुपर्छ । तर त्यसअघि आफ्ना कोर भोटरहरूको विश्वास पनि भाजपाले जित्नुपर्ने हुन्छ । 

ममता बनर्जीले प्रचण्ड बहुमतका साथ चुनाव जितिन् भने अब उनी राष्ट्रिय राजनीतितिर आउने पक्का छ । तर क्षेत्रीय रूपमा बलियो देखिएकी ममता बनर्जी राष्ट्रिय राजनीतिमा पनि उत्तिकै प्रभावशाली हुने कुरा शंकाको घेरामा छ । 

ममताभन्दा पनि भाजपाले आत्मनिरीक्षण गर्ने बेला आएको छ । दुईसय भन्दा बढी सीट ल्याउने भनी हुंकार गरेको पार्टी कहाँ चिप्लियो भन्ने विषयमा भाजपाले मन्थन गर्नुपर्छ ।
 

स्वराज्यमा प्रकाशित आर जगन्नाथको विश्लेषण 
 

salt training

कमेन्ट गर्नुहोस्