काठमाडौँ, १५ जेठ — सरकारले आर्थिक वर्ष २०७४—७५ का लागि आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बेजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचनात्मक सर्मथन गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संवैधानिक व्यवस्थाअनुसार समयमै बजेट आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए ।
चालु आवको बजेटको निरन्तरता भने पनि बजेटको आकारमा भएको वृद्धिका कारण मूल्यवृद्धिमा भने प्रभाव पार्न सक्ने बताउँदै उनले बजेटमा प्रमुख प्राथमिकतामा १३ विषय राखिएको तर वास्तविक प्राथमिकता के हो भन्ने उल्लेख नभएको धारणा व्यक्त गरे ।
पूर्वअर्थमन्त्री पाण्डेले स्थानीय तहलाई केन्द्रबाट सिधै जाने व्यवस्था प्रस्तुत बजेटको सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसअघि आफ्नो पार्टीले अगाडि सारेको चर्चित कार्यक्रम नराखिएकोप्रति गुनासो गरे ।
शिक्षा क्षेत्रको लगानी भविष्यका लागि हुने भएकाले कम बजेट राखिएकोप्रति आलोचना गर्दै उनले सो क्षेत्रमा उल्लेख्य बजेट व्यवस्था हुनुपर्ने बताए ।
संसद्को अर्थ समितिका सभापतिसमेत रहेका एमाले नेता प्रकाश ज्वालाले अर्थ समितिका सुझावलाई समेत समेटेर बजेट प्रस्तुत गरेकोमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई धन्यवाद दिए ।
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले स्थानीय तहको निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रम नआएको बताउँदै बजेटको आकार बढाएकाले विप्रेषणको लगानीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने कार्यक्रम नभएको टिप्प्णी गरे ।
व्यापार घाटा डरलाग्दो रुपमा बढेको भए पनि यसलाई सम्बोधन गर्ने कार्यक्रम खासै रुपमा नआएको उल्लेख गर्दै उनले त्यसका लागि कृषि, घरेलु उद्योगमा लगानी बढाउने कार्यक्रम आउनुपर्दथ्यो तर त्यो आउन नसकेको विचार व्यक्त गरे ।
राप्रपाका नेता एवम् सांसद दीलनाथ गिरीले नयाँपन नभएको बजेट ‘कर्मकाण्डी’ जस्तो मात्रै रहेको टिप्पणी गरे । उनले बजेट विधि पु¥याउनका लागि मात्रै ल्याइएको जस्तो देखिएको छ भने ।