
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
सरकारले चाँडै नै नयाँ भवनमा संक्रमितको उपचारका लागि आइसोलेसन शय्या सञ्चालनको तयारी थालेको छ । आइतवारै सरकारले काठमाडौं उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा १ हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित बढिरहेकाले अस्पतालमा शय्याको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।
उपप्रधानमन्त्री पोखरेलले आइतवारै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए ।