नयाँ भेरियन्ट सहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ ।
तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।
कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।
‘हाल कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौं,’ उनले भने, ‘अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।’ उनका अनुसार कारागारमा हाल २६६ कैदीबन्दी छन् ।
जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो । नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।