२२ असार २०८३, सोमबार

शंकर पोखरेलको स्पष्टीकरण : विमला खत्रीले माओवादी रोजेको प्रचार गर्नु कानून विपरीत

बैशाख २०, २०७८
शंकर पोखरेलको स्पष्टीकरण : विमला खत्रीले माओवादी रोजेको प्रचार गर्नु कानून विपरीत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानून विपरीत कार्य रहेको स्पष्टीकरण दिएका छन् ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएको चर्चा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले सांसद खत्री एमाले संसदीय दलका बैठकमा सहभागी हुँदै आएकाले अहिले माओवादी रोजेको भन्नु कानून विपरीत भएको दाबी गरे ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा विचार व्यक्त गर्दै सूर्य चिह्नबाट चुनाव जितेका सांसदहरू विपक्षी गठबन्धनमा सहभागी भएको भन्नु असंवैधानिक र अराजनीतिक रहेको टिप्पणी गरे ।

पोखरेलले फेसबूकमा लेखेका छन् –

लुम्बिनी प्रदेशको यथार्थ – लुम्बिनीमा नेकपा एमाले प्रदेशसभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो । दलको बैठकले सर्वसम्मत रूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रक्रिया अनुरूप नै हुनेछ ।

विमलाकुमारी खत्री फागुन २३ गतेको फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनुभएको हो । उक्त विवरण त्यतिबेला नै प्रदेश सभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानून विपरीत कार्य हो । यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ ।

चर्चामा ल्याइएका अन्य सांसदहरू समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाउनुभएको हो । सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरूको समर्थन कानूनी रूपमा समेत अन्य दललाई हुनु सक्दैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चार्यको कुरा हो ।

जनता समाजवादीका ४ जना सदस्यहरूलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारवाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा एमाले बहुमत प्राप्त दल बनेको हो । बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ ।

उहाँहरू अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नुभएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दाबी उहाँहरूको छ ।

संविधानले चुनाव चिह्न लिएर चुनाव जिल्नेहरूलाई दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिह्न सूर्य लिएकाहरू हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले व्यक्तव्य जारी गर्ने कुरा लज्जास्पद हो ।

जनता समाजवादीका बहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्ति पछिको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।

सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकाहरूलाई दल अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा हो ।

बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहिरहने छ । संवैधानिक रूपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन ।

जुन साथीहरूले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनुभएको छ, उहाँहरूले लुम्बिनी सरकारविरुद्ध प्रपोगान्डा सञ्चालन गर्नु स्वाभाविक हो ।

जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ, ७ प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै छ र रहने छ । विभिन्न माध्यमबाट चासो, चिन्ता र सरोकार राख्नुहुने तथा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद !

salt training

कमेन्ट गर्नुहोस्