बलिउड अभिनेता मिथुन चक्रवर्तीले पश्चिम बंगाल विधानसभा निर्वाचनभन्दा ठीकअघि भारतीय जनता पार्टीको सदस्यता लिएर भाजपाका लागि चुनाव प्रचार गरेको भए पनि त्यसको कुनै परिणाम देखिएको छैन ।
मिथुनले ‘म असली गोमन साँप हुँ, डसें भने तस्वीर बन्नेछौ’ भन्दै फुइँ लगाएका थिए ।
भाजपाले मिथुनलाई बंगालको छोराका रूपमा प्रस्तुत गरेर भोट बटुल्नका लागि कोशिश गरेको थियो । ममता बनर्जीले आफूलाई बंगालकी छोरी भनी आक्रामक रूपमा प्रचार गर्दा त्यसलाई टक्कर दिन मिथुनलाई अघि सारिएको थियो ।
मिथुन चुनावमा निकै खटिए र अनेकौं चुनावी सभामा भाग लिए । उनका सभामा भीड जम्मा हुने गरेको थियो । तर त्यो भीड भोटमा परिणत भएन ।
त्यसो त मिथुनलाई चुनावमा उम्मेदवार बनाउन पनि भाजपाले खोजेको थियो । पुरानो र विश्वसनीय बंगाली अनुहारलाई उम्मेदवार बनाउँदा आफूलाई फाइदा हुने आकलन भाजपाको थियो । तर अन्तिममा यसको सहमति बन्न सकेन ।
मिथुन बंगालमा लोकप्रिय व्यक्ति हुन् तर उनको लोकप्रियता फिल्ममा सीमित छ । उनको प्रभाव राजनीतिमा विस्तारित हुन सकेन ।
तर मिथुनको अहिलेको कोशिशले भविष्यमा उनको राजनीतिक करीयरमा फाइदा गर्न सक्ने सम्भावना छ ।