०३ असार २०८३, बुधबार

केरलमा यसरी वामपन्थीहरूको गढ जोगाए पिनारायी विजयनले

बैशाख २०, २०७८
केरलमा यसरी वामपन्थीहरूको गढ जोगाए पिनारायी विजयनले

भारतको केरल राज्यमा ५० वर्षपछि नयाँ इतिहास बनेको छ । नयाँ इतिहास वामपन्थी दलले लेखेको छ ।

सन् १९५७ मा पहिलोपटक संसारमा लोकतान्त्रिक तरिकाले छानिएर कम्युनिस्टको सरकार बनेको थियो । त्यही कम्युनिस्ट पार्टीले सन् १९७० पछि पहिलोपटक निरन्तर दोस्रो कार्यकालका लागि चुनाव जितेको छ । 

सन् १९७० पछिका सबै चुनावमा सरकारले एक कार्यकाल मात्र चलाउने गरेको इतिहास थियो । प्रत्येक पाँच वर्षमा केरलमा कांग्रेस सहितको यूडीएफ र वामपन्थीहरूको एलडीएफले सत्तामा आलोपालो गर्थे । 

राज्यका मुख्यमन्त्री पिनराई विजयनले केरलमा निरन्तर दोस्रोपटक कार्यकाल चलाउने जनादेश पाएका छन् । विजयनलाई केरलको मोदी भन्ने गरिन्छ । सन् २०१९ मा मोदीको बलमा भाजपाले केन्द्रमा निरन्तर दोस्रोपटक सरकार बनाए जस्तै विजयनको नेतृत्वमा नै वामपन्थी मोर्चा दोस्रोपटक कार्यकाल चलाउन लागेको हो । 

चुनाव जित्नका लागि विजयनले निकै राम्रा काम गरेका थिए । 

चुनावी रणनीतिअन्तर्गत उनले दुईवटा कार्यकालमा विजयी भएका नेतालाई टिकटै दिएनन् । यसो गर्दा पार्टीमा हल्लाखल्ला र कार्यकर्ताको प्रदर्शन भए पनि विजय त्यसमा अडिग रहे । 

यसले सीपीएमलाई निकै फाइदा भयो किनकि जुन विधायकहरूसँग जनता रिसाएका थिए, तिनलाई पार्टीले टिकट नै दिएन । अनि सरकारविरोधी लहर नै आउन पाएन । 

त्यसबाहेक केरलमा विजयनको छवि मोदीको जस्तै भएको सेन्टर फर पब्लिक पोलिसीका अध्यक्ष डा धनुराजले बताए । उनको संस्थाले गरेको सर्वेक्षणमा बाँकी नेताको तुलनामा विजयनको लोकप्रियता ४५ प्रतिशत छ ।

मानिसहरू उनलाई निर्णायक, योग्य र क्षमतावान नेता तथा प्रशासन मान्छन् । उनी जति लोकप्रिय नेता केरलमा अहिले अर्को छैन । 

अनि राहुल गान्धीले निकै जोडबल गरेको भए पनि जनतासम्म उनको पहुँच नै पुग्न नसक्दा पनि विजयनलाई फाइदा भएको हो । 

त्यस्तै भाजपाले राज्यमा ध्रुवीकरणको भरपूर कोशिश गरेको भए पनि त्यो बेकामे ठहरियो । पार्टीले राज्यमा सबरमिाला र लभ जिहादको विषय जोडले उठायो । विकासको नाममा मेट्रो रेलका डिजाइनर ई श्रीधरनलाई पनि उम्मेदवार बनायो । तर गतिलो पब्लिक फेस नभएकाले भाजपालाई केही फाइदा भएन । 
 

विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते । उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि राज्यलाई सम्हाले र जनताको सहायता गरे । कोभिड आउँदा पनि उनले केरलमा हालत नियन्त्रणबाहिर जान दिएनन् । 

त्यस्तै विजयनले प्रत्येक घरमा निःशुल्क राशन उपलब्ध गराए । उनले प्रवासी मजदूरहरूका लागि सामुदायिक भान्साको प्रबन्ध पनि मिलाए । खाडी मुलुकबाट फर्केका मजदूरलाई पैसा दिए । 

अनि कोभिडको खोप सबैलाई निःशुल्क उपलब्ध गराए । 

वृद्धवृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि उनले गराए । 

यी यावत् कारणहरूले गर्दा केरलमा विजयनको बोलबाला रह्यो । 

salt training

कमेन्ट गर्नुहोस्