
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए ।
वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति देउवा लगायत कांग्रेस नेतासँग बुधवार छलफल गरेका छन् ।
देउवालाई भेट्न उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ बूढानीलकण्ठ पुगेका थिए ।
मंगलवार मात्र कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत असफल गराउने निर्णय गरेको थियो । कांग्रेसले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहसँग छलफल गरिरहेको छ ।