०२ असार २०८३, मंगलबार

काठमाडौं उपत्यकामा थप कडाइ, फूटपाथ व्यवसाय बन्द

बैशाख २३, २०७८
काठमाडौं उपत्यकामा थप कडाइ, फूटपाथ व्यवसाय बन्द
फाइल फोटो

काठमाडौं उपत्यकामा बिहीवारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।

बुधवारसम्म बिहान–साँझ नै पसल खुला गरिए पनि बिहीवारदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । 

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।

कोभिड–१९ संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौं उपत्यकामा थप कडाइ गर्दै बिहीवार बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधवार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश १ हप्ता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । 

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसूस गरी केही कडाइ गरिएको जनाइएको छ । 

यसपालि भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार/व्यवसाय एवं कवाडी संकलनमा समेत रोक लगाइएको छ । आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टीनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस चाहिने भएको छ ।  

आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शक सहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।

salt training

कमेन्ट गर्नुहोस्