
आफूले प्रयोग गर्ने गाडी कोरोना भाइरस संक्रमणको महामारीका बेला एम्बुलेन्सका रूपमा प्रयोग गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) स्कूटरमा सवार हुन थालेका छन् ।
मेयर बाशुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले सवारीसाधनका रूपमा स्कूटर प्रयोग गरिरहेका छन् । यसअघि मेयर र उपमेयरले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्स बनाइएको छ ।
मेयर घिमिरे र उपमेयर चौधरीले चढ्ने क्रमशः लु१ज ३६० र लु१झ ३२६ नम्बरको स्कारपियो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको छ ।
नगरका कोरोना फोकल पर्सन केशव भट्टराईलाई बिहीवार सरकारी गाडी हस्तान्तरण गर्दै मेयर र उपमेयर स्कूटरमा चढेर घरतर्फ लागेका छन् ।
‘मेरो पुरानो थोत्रो गाडी थियो, गत वर्ष नै बिक्री गरेको हुँ,’ मेयर घिमिरेले लोकान्तरसँग भने, ‘नजिक–नजिक हिँड्नलाई साइकल छ । नगरपालिका जानलाई स्कूटर छ । टाढै काठमाडौं जानुपर्ने अवस्था आएमा गाडी खोजेर भए पनि जाउँला । बिरामीहरू अस्पताल पुग्न नपाएर घरमै छट्पटिएको देख्दा मनले मानेन, आफू चढ्ने सरकारी गाडीलाई एम्बुलेन्स बनायौं ।’
घिमिरे थप्छन्, ‘राति २–३ बजेसम्म ‘मेयरसा’प एम्बुलेन्स पाइएन, पाल्पा लैजानुपर्यो, भैरहवा लैजानुपर्यो’ भन्दै दैनिक रूपमा नगरबासीले रुँदै फोन गर्न थाले । टाढाबाट आउने एम्बुलेन्सले लोकेसन नभेट्टाएर घरमै ज्यान जाने जोखिम भयो । मेरो गाडी चलाउनेले त सबै ठाउँ चिनेका छन् । उपमेयरको गाडी चलाउने चालकले पनि नगरका गल्ली–गल्ली चिनेका छन् । उनीहरू समयमै पुग्छन् । बिरामीले अस्पतालसम्म पुग्न सहज हुनेछ भनेर गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याएका हौं ।’
‘केही दिन हामी साइकलै चढेर हिँडे पनि फरक पर्दैन । सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेसनमा पुर्याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ घिमिरेले लोकान्तरसँग भने ।
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स पर्याप्त नभएपछि आफूहरूले चढ्दै आएका २ वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाएको उपमेयर चौधरीले बताइन् । ‘नगरका जनता बचाउनु नै हाम्रो प्रमुख दायित्व हो,’ उनले भनिन्, ‘मेरो एक स्कूटर छ, अब त्यसैमा हिँड्छु । हाम्रो गाडी नगरका बिरामी बोक्न प्रयोग गरियो । नगरका जनता बाँचे मात्रै जनप्रतिनिधि बाँच्ने हुन् भनेर हामीले आफ्नो सुविधा जनताको सेवामा सर्मपित गरको हौं,’ चौधरीले भनिन् ।
चालक २४ घण्टै जुनसुकै बेला फोन आएपनि संक्रमित बिरामीको घरमा तुरुन्तै पुग्ने जनाइएको छ । चालकलाई अतिरिक्त सुविधा थप गरिएको छ । नगरपालिकाका आफ्नै २ वटा एम्बुलेन्स पनि छन् । तिलोत्तमामा अहिले बुटवलपछि सबैभन्दा बढी संक्रमित थपिँदै गएका छन् । नगरमा दैनिक २०० भन्दा बढी संक्रमित थपिँदै गइरहेका छन् ।
तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० शय्या क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । ९ नम्बर वडामा रहेको सभाहलमा थप ६० शय्याको आइसोलेसन सेन्टर बनाउने गरी काम अघि बढाएको छ ।
नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरूको शंकरनगरमा हरेक दिन एन्टिजेन परीक्षण गर्दै आएको छ । आइसोलेसनमा १ जना चिकित्सकसहित नर्स लगायतका स्वास्थ्यकर्मी रहेका छन् ।
तिलोत्तमा नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । तिलोत्तमा नगरपालिकामा वैशाख १५ गतेयता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १ हजार ३०० पुगेको छ ।