११ साउन २०८३, सोमबार

एमाले विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिद्वारा दिउँसो ओली र साँझ नेपालसँग परामर्श

बैशाख २३, २०७८
एमाले विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिद्वारा दिउँसो ओली र साँझ नेपालसँग परामर्श

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साँझ एमाले नेता माधवकुमार नेपालसँग परामर्श गरेकी छन् । लामो समयपछि नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले गत चैत्र ३ गते आयोजना गरेको सर्वदलीय बैठकमा समेत सहभागी नभएका नेपाल बिहीबार साँझ भने राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीसँग भेट्नुअघि नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भण्डारीसँग दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । राष्ट्रपति भण्डारीसँग नेता नेपालको के कुराकानी भयो भन्ने बाहिर आएको छैन ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा एमालेका नेताहरुबीच बहुपक्षीय छलफल चलिरहेको छ । एमालेको नेपाल पक्षले वैशाख २७ गते संसदमा ओलीलाई विश्वासको मत दिने नदिने अन्योल रहेको समयमा नेता नेपाल र राष्ट्रपति भण्डारी बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि नेकपा एकता भंग हुनुअघि राष्ट्रपति भण्डारीले तत्कालीन नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएर मिल्नको लागि सुझाव दिने गरेकी थिइन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई पनि मिलेर जान आग्रह गरेकी छिन् ।

स्रोतका अनुसार नेता नेपालले मिल्नको लागि पार्टी एकता भन्दा अगाडिको अवस्था अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने आफूहरुको अडान रहेको बताएका थिए । नेता नेपालसँग बिहीवार मात्र कुरा गरेका एमालेका एक नेताले एकता पूर्वको अवस्थामा फर्किनु पर्ने एकसुत्रीय अडान र बटमलाइनमा नेपाल दृढ छन् ।

माधव नेपाललाई चरम धर्म संकट

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई आग्रह गरेका नेपाल पक्षलाई वैशाख २७ गते ओलीको पक्षमा मत हाल्ने कि विपक्षमा भन्ने चरम अन्योल सृजना भएको छ । काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याए फ्लोर क्रस गर्ने बताएको नेपाल समूह आधिकारिक रुपमा भने अनिर्णित छ ।

राष्ट्रपति भण्डारीसँग भेट्नु अघि नेता नेपालले देउवासँग परामर्श गरेका थिए । देउवासँग प्रधानमन्त्री ओलीसहित एमाले नेताहरुले बुधवार मात्र परामर्श गरेका थिए । ओलीले देउवालाई भेटेको भोलिपल्ट नेपाल बूढानीलकण्ठ गएर देउवासँग परामर्श गरेका हुन् ।

काँग्रेस स्रोतका अनुसार नेता नेपालले आफूहरुले ओलीलाई विश्वासको मत दिन नसक्ने अडान दोहोर्याएका थिए । माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवसँग नेता नेपालले हिजो संसदमा विश्वासको मत फेल गराउने र नयाँ सरकार गठन गर्ने छलफल गरेका थिए ।

देउवासँगको भेटमा नेता नेपालले अविश्वासको प्रस्तावमा अगाडि बढ्न आग्रह गरेका कांग्रेस स्रोतले बतायो । अविश्वासको प्रस्ताव ल्याएमा बहुमत पुग्न सहज हुनेगरी आफूहरुले राजीनामा गर्ने विश्वास दिलाएका थिए ।

काँग्रेस र माओवादी केन्द्रसँगको समन्वयमा नेता नेपाल पक्षका नेता डा खिमलाल देवकोटालाई बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको साझा उम्मेदवार बनाउने निर्णय भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका कारण पछिल्ला भेटघाट नेता नेपाल एक्लैले गरिरहेका छन् । नेता नेपाल पक्षमा मिल्नु पर्ने दोस्रो तहका नेताहरुको दवाव छ । एमाले संस्थापन पक्ष र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच बिहीवार पनि छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्