
चार दलीय विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र , जसपा र राजमोले प्रेस बिज्ञप्ती जारी गर्दै असंबैधानिक बाटोबाट मुख्यमन्त्री बनेका पोखरेलको राजीनामा माग गरेका हुन् । चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् ।
उनीहरुले अल्पमतमा रहेका बेला पोखरेलले मुख्यमन्त्रीको सपथ लिनु असंवैधानिक कदम भन्दै बहुमत समर्थन रहेका माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत माग गरेका छन् । नेकपा एमालेका दुई सांसदले राजीनामा दिएको र नेकपाबाट निर्वाचन लडेका एक सांसद माओबादीमा प्रवेश गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
एमालेबाट निर्वाचित दृघनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन् भने नेकपाबाट उपनिर्वाचन जितेकी बिमला खत्री माओबादी केन्द्रमा प्रवेश गरेकि छिन् । हाल ७९ सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा अब जम्मा ३७ मत मात्रै छ । नागरिक दैनिकमा खबर छ ।