गत जनवरी महिनामा प्रसारण बन्द भएको द कपिल शर्मा शो मे महिनामा फेरि प्रसारण गरिने योजना बनाइएको भए पनि त्यसो नहुने भएको छ ।
यसलाई जुन महिनासम्मका लागि टारिएको प्रोडक्सन हाउसले जनाएको छ । तर त्यतिबेलामा पनि शो आउने कुरा निश्चित छैन ।
जनवरी महिनामा अभिनेताहरू उपलब्ध नहुँदा शो अफएयर भएको थियो । थिएटरमा फिल्म रिलीज नहुँदा बलिउड अभिनेताहरू आफ्नो फिल्मको प्रमोसन गर्नका लागि आउने कुनै सम्भावना नरहेकाले शो चलाउन गाह्रो छ ।
वेब सिरीज र टीभी अभिनेताहरूलाई बोलाएर शो बनाएको भए पनि सोचेको जस्तो टीआरपी आएन । त्यसपछि शो बनाउनेहरूले ब्रेक लिने निर्णय गरे । मे महिनामा फर्किने सोच थियो तर त्यसो हुन सकेन ।
कोभिड महामारीका कारण भारतमा हाहाकार छ । यस्तो स्थितिमा अभिनेताहरू शोको शूटिङमा आउने कुरै हुन्न । मे महिनासम्ममा कोभिड नियन्त्रणमा आउला भन्ने सोच थियो तर झन् अर्को लहरको आइदियो । त्यसैले अहिलेका लागि शो रद्द नै छ । यसको खबर च्यानलले शोका अभिनेताहरूलाई दिइसकेको छ ।