
लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले विभिन्न उद्योगबाट २ दिनमा १०५ सिलिन्डर संकलन गरेको छ ।
मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर संकलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।
कोभिड–१९ महामारीको दोस्रो लहरले संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर संकलन गरी डिलरमा पुर्याएको छ ।
दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संकलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए । ‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौं,’ प्रजिअ तिम्सिनाले भने, ‘अक्सिजन अभावमा संक्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर संकलन गर्न थालेका हौं ।’
जिल्लामा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शय्याको कोभिड अस्पतालमा ५० शय्या संक्रमितले भरिसकेका छन् ।