३१ जेठ २०८३, आइतबार

उद्योगहरूमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्दै उद्योग संघ

बैशाख २५, २०७८
उद्योगहरूमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्दै उद्योग संघ
प्रतिकात्मक तस्वीर

उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरूमा प्रयोग गरिएका अक्सिजन सिलिन्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ ।

कोभिड संक्रमणसँगै सिलिन्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो ।

संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिन्डर संघमा पठाइदिन अनुरोध गरिएको हो ।

‘धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । सबैसँग हामीले सहयोगका लागि अनुरोध गरेका छौं,’ उनले भने ।
 
जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० भन्दा बढी सिलिन्डर संकलन हुने अपेक्षा गरिएको छ ।
 
संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसंघको आग्रहपछि उद्योगीसँग रहेका सिलिन्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिन्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ ।

उनका अनुसार सिलिन्डर संकलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । 

अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । पौडेलले भने, ‘हामी यो मानवीय कार्यमा सक्दो सहयोग गर्छौं ।’

कोरोनाको पहिलो लहरमा संघले अस्थायी अस्पताल स्थापनाका लागि प्रदर्शनी हल उपलब्ध गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्