स्वास्थ्य मन्त्रालयको निर्णयप्रति निजी अस्पतालको आक्रोश

स्वास्थ्य मन्त्रालयको एउटा निर्णयप्रति निजी अस्पताल सञ्चालकहरुले आपत्ति जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)का महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदानबिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयका कारण चाहेर पनि बिरामी लिन नसक्ने अवस्था आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।


Advertisement

अहिले काठमाण्डौका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य छ । यस्तो अवस्थामा अक्सिजनको आपूर्ति नै गडबड हुने गरी मन्त्रालयले निर्णय उनीहरुको आरोप छ ।

‘नागरिकको स्वास्थ्य अधिकारका लागि निजी क्षेत्रले सधैं राज्यसँग हातेमालो गर्दै आएको छ । हामी पनि कोरोना संक्रमितको उपचारमा बलबुताले भ्याएसम्म तल्लीन छौं,’ महासचिव दाहालले भने–‘जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुले निजी क्षेत्रको अस्पतालसँग समन्वय गर्नुपर्यो भनिरहनुभएको छ, त्यो भइरहेको पनि छ । तर केन्द्रले भने यस्तो महामारीको अवस्थामा पनि निजी क्षेत्रलाई निरुत्साहित बनाई गलत निर्णय गरेको छ । यसले निजी अस्पतालमा उपचार गराइरहेका र अक्सिजनको आवश्यकता रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोकिदिएका र त्यसले निजी क्षेत्रमा उपचाररत सयौं बिरामीलाई आवश्यक अक्सिजन नै अभाव हुने हो कि भन्ने चिन्ता बढाइदिएको दाहालले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्