राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत संक्रमितलाई चितवन ल्याउन थालिएको छ ।
चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट संक्रमित ल्याउने क्रम बढेको हो ।
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । चितवनकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी संक्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ ।
यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौंबाट २, नेपालगञ्जबाट २, दाङ र भैरहवाबाट १/१ संक्रमितलाई हेलिकोप्टरबाट चितवन ल्याइएको छ ।
आइतवार मात्रै १ संक्रमितलाई काठमाडौंबाट हेलिकप्टरमार्फत चितवन ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने संक्रमितको संख्या ठूलो छ । उनले भने, ‘यसरी आउनेको यकिन तथ्यांक त छैन तर ठूलो संख्यामा काठमाडौं लगायतका ठूला शहरबाट संक्रमित यहाँ आएका छन् ।’
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउँछन् । उनले भने, ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौं ।’
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए । आइतवार मात्रै मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्तापूर्व) पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको जानकारी दिए ।