३० जेठ २०८३, शनिबार

ठेकेदारले ढिलाइ गरेपछि सालदाङमा चामल अभाव

बैशाख २६, २०७८
ठेकेदारले ढिलाइ गरेपछि सालदाङमा चामल अभाव
प्रतिकात्मक तस्वीर

जाजरकोटको शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन ।

ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।

कम्पनीले गत वर्ष साल्दाङका लागि १ हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६०० क्विन्टल खाद्यान्न मात्र पुगेको छ । 

सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो । २ स्थानीय तहको चामल पुगे पनि साल्दाङमा भने अहिलेसम्म पुगेको छैन । गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७०० क्विन्टल र डोल्पोबुद्धको धोमा ८७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ ।

चिसो र हिमपातका कारण कम्पनीको चामल पुर्‍याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए । ‘चामल दुनै आएर थन्किएको छ, ढुवानी सेवालाई छिटो लिन आग्रह गरिएको छ,’ उनले भने । 

केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ । माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयलाई यसअघि प्रतिक्विन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो । कम्पनीले प्रतिक्विन्टल जिरा  मसिनो चामल ७ हजार र सोना चामल ५ हजार ६०० रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।

कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसितुन्डुप गुरुङले बताए । कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लोे डोल्पामा २ वर्षदेखि चामल पुग्न सकेको थिएन । विगतका वर्षमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो । 

खाद्यान्न उत्पादन कम हुने उपल्लो डोल्पा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ । केही हुने खानेले दुनैमा आएर खच्चड, घोडा र चौंरीमा खाद्यान्न लैजाने गरे पनि अधिकांश निम्न वर्गका स्थानीयहरू समस्यामा पर्ने गरेका छन् । सामानको मूल्यभन्दा ढुवानी खर्च महंगो हुने गर्छ । – हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्