बेलायतबाट प्रकाशित हुने मेडिकल रिसर्च जर्नल द ल्यान्सेटले आफ्नो सम्पादकीयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीका विषयमा कठोर टिप्पणी गरेको छ ।
जर्नलका अनुसार, मोदीको काम क्षमायोग्य छैन । उनले पोहोर साल कोरोना महामारीको सफल नियन्त्रण गरेकोमा दोस्रो लहरको व्यवस्थापनमा भएका गल्तीको जिम्मेवारी लिनुपर्छ ।
अमेरिकाको द इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स यान्ड इभ्यालुएसनले गरेको अनुमानलाई द ल्यान्सेटले सापटी लिँदै भारतमा अगस्ट १ सम्म कोरोना महामारीका कारण १० लाख मानिसको मृत्यु हुने बताइएको छ ।
त्यसो भयो भने मोदी सरकार यस राष्ट्रिय विपत्तिका लागि जिम्मेवार हुनेछ । कोरोनाको सुपरस्प्रेडर कार्यक्रमका विषयमा चेतावनी दिइएको भए पनि सरकारले धार्मिक आयोजनको अनुमति दियो अनि कतिपय राज्यमा चुनावी सभा पनि आयोजना गर्यो ।
जर्नलले थप लेख्यो, ‘मोदी सरकार कोरोना महामारी नियन्त्रण गर्नुको साटो ट्विटरमा भइरहेको आलोचना र खुला बहसमा लगाम लगाउन बढी जोड दिइरहेको देखियो ।’
जर्नलले भारत सरकारको खोप नीतिको पनि आलोचना गरेको छ । केन्द्र सरकारले राज्यहरूसँग नीतिमा परिवर्तनको चर्चा नगरिकनै अचानक परिवर्तन ल्यायो र २ प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र खोप लगाउन सफलता पायो ।
भारतको स्वास्थ्य प्रणालीमा पनि जर्नलले प्रश्न उठाएको छ । अस्पतालहरूमा रोगीहरूले अक्सिजन नपाएको, ज्यान गुमाइरहेको, मेडिकल टीम पनि थाकेको र संक्रमित भइरहेको अवस्था छ । सामाजिक सञ्जालमा मानिसहरू मेडिकल अक्सिजन, बेड, भेन्टिलेटर र आवश्यक औषधिको माग गरिरहेका छन् ।
द ल्यान्सेटका अनुसार, स्वास्थ्यमन्त्री डा हर्षवर्धनले मार्च महिनामै महामारी अन्त्य हुन लागेको घोषणा गरे । केन्द्र सरकारले राम्रो व्यवस्थापनका साथ कोरोनालाई हराउन सफलता प्राप्त गरेको उनले बताए ।
दोस्रो लहरको चेतावनी बारम्बार दिइएको भए पनि सरकारले बेवास्ता गर्यो ।