२८ जेठ २०८३, बिहीबार
महन्थको लाइन

महन्थले ओलीलाई भने– 'तपाईंलाई विश्वासको मत दिँदैनौं, अरूलाई पनि सघाउन्नौं'

बैशाख २६, २०७८
महन्थले ओलीलाई भने– 'तपाईंलाई विश्वासको मत दिँदैनौं, अरूलाई पनि सघाउन्नौं'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले विश्वासको मत दिन नसक्ने जानकारी गराएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका हुन् ।

जसपाका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन अनुरोध गरेका थिए।

जवाफमा ठाकुरले आफूहरूको माग यस सरकारले पनि पूरा नगरेका कारण विश्वासको मत दिन नसकिने बताएका थिए।

‘हामीले मुद्दा फिर्ता, नागरिकता विधेयक, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण लगायतका प्रमुख मागहरू तपाईंसँग गरेका थियौं, तर त्यसमध्ये केही मुद्दा मात्र फिर्ता भएकाले तपाईंको पक्षमा मतदान गर्न सक्दैनौं,’ ठाकुरले भनेको भनाइलाई उद्धृत गर्दै ती नेताले भने, ‘मुद्दा फिर्ता लिएर तपाईंले हामीलाई केही विश्वास त दिलाउनु भयो तर, त्यो नै पर्याप्त नभएकाले विश्वासको मत दिन सक्दैनौं ।’

यद्यपि प्रधानमन्त्री ओलीले नै यसअघि सुझाएको दोस्रो विकल्पमा भने आफूहरू तयार रहेको उनीहरूले बताएका थिए ।

यसअघिका भेटमा प्रधानमन्त्री ओलीले जसपा नेताहरूलाई कि त आफूलाई विश्वासको मत दिन, नभए तटस्थ रहन आग्रह गर्दै आएका थिए ।

‘न त हामी पक्षमा मतदान गर्छौं, न त विपक्षमा नै मतदान गर्छौं, हामी तटस्थ बस्छौं,’ ठाकुरले ओलीलाई भनेको एक नेताले बताए ।

त्यसअघि ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जसपा तटस्थ बस्ने, वैकल्पिक सरकार बनाउन नसकिने तथा अर्ली चुनावको माहोल बनाउन लाग्नुपर्ने भन्दै जसपाको राजनीतिक लाइन सुनाएका थिए।

जसपाले आजै कार्यकारिणी समिति र संसदीय दलको बैठक बसेर राजनीतिक निर्णय गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्