
२ नम्बर प्रदेशका विभिन्न जिल्लामा व्यक्ति तथा उद्योगले लुकाएर राखेका ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको छ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले दिएको जानकारीअनुसार प्रदेश अन्तर्गतका उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखिएको १३२ थान अक्सिजन भरिएको सिलिन्डर र ५६८ थान खाली सिलिन्डर प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएका ती अक्सिजन सिलिन्डरलाई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक डिस्ट्रीब्युटरलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने काम गरिएको प्रसाईले बताए।
धनुषा, महोत्तरी, बारा, रौतहट लगायतका जिल्लाहरूबाट लुकाइरहेका अवस्थामा अक्सिजन सिलिन्डर बरामद गरिएको हो।
‘पछिल्लो तीन दिनभित्र उक्त संख्यामा अक्सिजन सिलिन्डर हामीले बरामद गरेका छौं,’ एसपी प्रसाईंले लोकान्तरसँग भने, ‘अब त्यस्ता काममा कति मानिसहरू संलग्न थिए, त्यसको एकिन गरेर उनीहरू विरूद्ध संक्रमण रोकथाम तथा नियन्त्रण ऐनअनुसार कारवाही गर्नेछौं।’
उक्त अभियान प्रदेशमा निरन्तर जारी रहने उनले बताए।