
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमवार बस्ने प्रतिनिधि सभा बैठकमा कोरोना संक्रमित सांसद प्रवेश गर्न नपाउने भएका छन् । तर, उनीहरूका लागि मतदानको छुट्टै व्यवस्था गरिने भएको छ ।
संसद् भवनमा आइतवार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई मतदानको छुट्टै व्यवस्था गर्ने निर्णय गरेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बुधवार, बिहीवार र शुक्रवार गरिएको परीक्षणमा १४ जना सांसदमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म केही मन्त्रीसहित २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
परीक्षण गर्न बाँकी ४ दर्जन जति सांसदले अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने निर्णय कार्यव्यवस्था समितिको बैठकले गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण विश्वासको मत लिने प्रक्रियालाई भोलि नै टुंग्याउने गरी कार्यक्रम छुट्याउने सहमति भएको बैठकमा सहभागी एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।
विश्वासको मतलाई भोलि नै निर्णयार्थ पेश गर्न दुईवटा बैठक बस्ने तयारी भएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।