३० जेठ २०८३, शनिबार

पौडेल र नेम्वाङसँग छलफलपछि आजका लागि टर्‍यो सांसदको राजीनामा, तर सहमति अझै जुटेन

बैशाख २६, २०७८
पौडेल र नेम्वाङसँग छलफलपछि आजका लागि टर्‍यो सांसदको राजीनामा, तर सहमति अझै जुटेन

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खटाएका दुई नेता अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपालसँग आइतवार गरेको छलफलपछि खनाल–नेपाल पक्षका सांसदको राजीनामा आजका लागि टरेको एमाले नेताहरूले बताएका छन् ।

खनाल–नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले आइतवार राजीनामा गर्ने बताएका थिए । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार अपराह्न पौडेल र नेम्वाङले नेता नेपालसँग आधा घण्टा कुरा गरेका थिए । राजीनामा बुझाउन भन्दै संसद् सचिवालय सिंहदरबार पुगेका सांसदहरू घर फर्केका छन् । 
आइतवारको छलफलमा पनि कुनै सकारात्मक नतिजा निस्कन नसकेको नेपाल पक्षका एक सांसदले बताए ।

‘पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काऔं भन्ने हाम्रो अडानमा कुनै परिवर्तन भएको छैन, उताबाट राजीनामा रोकौं भन्ने प्रस्ताव मात्र आयो, सहमतिको संकेत देखिएन,’ नेता नेपाल निकट एक सांसदले लोकान्तरसँग भने । 
नेता नेपालसँगको छलफलपछि नेम्वाङले भोलि बिहानसम्म सहमतिमा पुगिने जानकारी दिए । 

उनले नेपाल पक्षसँग फेरि छलफल हुने संकेत गरे । 

पौडेल र नेम्वाङसँगको छलफल अघि नेपाल पक्षले आन्तरिक छलफल गरेको थियो । खनाल नेपाल समूहमा राजीनामा गर्न नहुने मत पनि छ । सो समूहका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले राजीनामाको विकल्पमा जान नहुने अडान लिइरहेका छन् ।

सहमति नभए भोलिको प्रतिनिधि सभा बैठकअगाडि राजीनामा दिने विकल्प बाँकी नै रहेको नेपाल पक्षका एक सांसदले बताए । 

सोमवार प्रतिनिधि सभा बैठकमा ओलीलाई विश्वासको मत पुग्न नदिन नेपाल पक्षले राजीनामाको तयारी गरेको थियो । 

भोलि प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिँदैछन् । 

आइतवार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने प्रक्रियालाई भोलि नै टुंगोमा पुर्‍याउने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्