
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको लडाईँमा म्याग्सेसे पुरस्कार बिजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्धको लडाईँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभएको हो । कोरोनाविरुद्धको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।
भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए ।
उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । वैज्ञानिक पुनले संकटकालीन अबस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे ।
उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले बताए ।
उनीहरुबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।