२१ जेठ २०८३, बिहीबार

धवल शम्शेरसहित १२७ नेताले छाडे राप्रपा [सूचीसहित]

जेठ २१, २०८३
काठमाडौं
धवल शम्शेरसहित १२७ नेताले छाडे राप्रपा [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणासहित १२७ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले तत्कालीन एकता महाधिवेशनले दिएको वैचारिक र राजनीतिक कार्यादेशबाट पार्टी नेतृत्व विचलित भएको आरोप लगाउँदै राप्रपासँग सम्बन्धित सबै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

पार्टी छाड्नेमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेता तथा पूर्वमन्त्री दिलनाथ गिरीलगायत १२७ जना रहेका छन् । 

विज्ञप्तिमा राप्रपाको आधारभूत वैचारिक लक्ष्य संवैधानिक राजसंस्थासहितको संसदीय प्रजातन्त्र पुनर्स्थापना रहेको स्मरण गराइएको छ । तर पार्टीको मूल नेतृत्वले महाधिवेशनको म्यान्डेटविपरीत संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने उद्देश्यसहितको तत्कालीन सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागिता जनाएको आरोप लगाइएको छ ।

‘संवैधानिक राजसंस्था पुनर्स्थापनाको लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्न किन अग्रसर भयो ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘यस विषयमा पटकपटक स्पष्टीकरण माग्दा पनि कुनै जवाफ प्राप्त भएन ।’

पार्टी नेतृत्वको भनाइ र व्यवहारबीच ठूलो अन्तर देखिएको तथा त्यसकै परिणामस्वरूप जनतामाझ राप्रपाप्रतिको विश्वास घट्दै गएको दाबी गरिएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको उल्लेख गर्दै त्यसलाई नेतृत्वको असफलताको प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

पार्टीभित्र संस्थापक नेताहरू र कार्यकर्ताले विधान कार्यान्वयनको माग गर्दा उल्टै कारबाहीको सामना गर्नुपरेको, केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरिएको तथा महाधिवेशन समयमै नगरी पार्टीलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरिएको आरोप पनि लगाइएको छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोके पनि त्यसका पक्षमा संसद्‌मा एउटै प्रस्तावसमेत दर्ता नगरेको भन्दै परित्याग गर्ने समूहले नेतृत्वमाथि वैचारिक प्रतिबद्धता त्यागेको आरोप लगाएको छ ।

‘जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति यही कार्यकालमा देखियो’, विज्ञप्तिमा भनिएको छ ।

राणाले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको औपचारिक प्रक्रिया शुरू भएको घोषणा गरेका छन् ।

राणाले समयको माग, जनभावना र राष्ट्रवादी शक्तिको रिक्ततालाई सम्बोधन गर्न नयाँ राजनीतिक दल निर्माणको अभियान शुरू गरिएको बताएका हुन् । उनले देशप्रेम, अवसर र प्रविधिमा आधारित नयाँ राजनीतिक यात्राको उद्घोष गरिएको उल्लेख गरेका छन् ।

उनले देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट विश्वसनीय राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएको सुझाव प्राप्त भएपछि नयाँ बाटो रोज्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्