
पार्टीमा सहमतिका लागि माधव नेपाल समूहले दिएको सोमवार बिहान सम्मको अल्टिमेटम सकिएको छ ।
यसबीचमा सहमतिको ठोस पहल नभएकोले आफूहरु राजीनामाको तयारीमा रहेको नेपाल पक्षका एक सांसदले लोकान्तरलाई जानकारी दिए ।
आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको माधव पक्षका सांसदहरुको बैठकले सोमवार बिहान ९ बजेसम्म सहमति गर्न ओलीलाई अल्टिमेटम दिएको थियो ।
नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने लगायत माग राख्दै आइतवार मध्यरातमा एक विज्ञप्ति जारी गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन नेपाल पक्षका सांसदले राजीनामा गर्न लागेका हुन् । राजीनामा गर्ने तयारीमा रहेका नेपाल पक्षका सांसद अहिले केहीबेरमा संसद सचिवालय सिंहदरबारमा भेला हुँदैछन् ।
‘सहमति भएन अब हामी बाध्य भएर राजीनामा दिने तयारीमा छौं,’ नेपाल निकट एक सांसदले सोमवार बिहान भने ।
दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक शुरू हुने भएकोले त्यस अगावै राजीनामा गर्न लागेको उनले बताए ।
कति जना सांसदले राजीनामा गर्छन् भन्ने अन्यौल छ । स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित १९ जना सांसदले राजीनामाको तयारी गरेका छन् ।