भारतमा कोरोना महामारीले कहर मच्चाइरहेको बेलामा आम मानिसले अनेकथरी समस्या भोगिरहेका छन् ।
कोरोना नियमको पालन नगर्नेहरूलाई प्रहरीले कठोर दमन गरिरहेको छ । यसैक्रममा मध्य प्रदेशको शहडोलमा प्रहरीले एक गाउँलेलाई मुक्का र लात हानेको भिडियो सार्वजनिक भएको छ । गम्छाले उक्त व्यक्तिको घाँटी थिचेर घिसार्ने कोशिश गरिएको पनि देखिन्छ ।
पपौंध थाना क्षेत्रमा कोरोना नियम उल्लंघन गरेको भनिएका व्यक्तिलाई प्रहरीले कुटपिट गर्दा उसले मानिसहरूलाई गुहार गरेको भए पनि उनीहरू मूकदर्शक भएर मोबाइलमा भिडियो खिचिबस्छन् ।
घटनापछि पीडितले कैयौं किलोमिटर टाढा रहेको एसपी कार्यालय पुगेर अधिकारीहरूसँग न्यायको पुकार गरेका थिए ।
सत्येन्द्र कुमार द्विवेदी नामक उक्त व्यक्ति गहुँ लिएर खरिद केन्द्र पुगेका थिए । उनले बिरामी परेको भैंसीका लागि औषधि पनि किन्नुपर्ने थियो ।
पपौंध थानामा तैनाथ हेड कन्स्टेबल जीवनले सत्येन्द्रलाई लकडाउनका बेलामा किन बाहिर निस्केको भनी सोधे अनि आक्रमण गर्न थाले । भुइँमा पछारेर उनले सत्येन्द्रलाई मुक्का र लात बर्साए । गम्छाले घाँटी थिचेर मार्न पनि खोजे ।
पपौंध प्रहरीले सत्येन्द्रका विरुद्ध धारा १५१ अन्तर्गत कारवाही गरेको छ ।
प्रहरीका अनुसार, सत्येन्द्रले लकडाउन उल्लंघन गरेका थिए । प्रहरीले सोधपुछ गर्दा उनले दुर्व्यवहार गरेको बताइएको छ । सत्येन्द्रका विरुद्ध थुप्रै उजुरी पहिले नै परेको प्रहरीको भनाइ छ ।