
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल मंगलवार निको भई घर फिर्ता भएका छन् ।
कोभिड–१९ संक्रमित भएपछि वैशाख १८ गते नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।
उनी वैशाख २६ गते कोभिड–१९ संक्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व प्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज भएका जानकारी दिए ।
संक्रमण भएपछि उनलाई शुरूमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।