
काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाइछिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने ७ जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोड समेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा पक्राउ गरिएको हो ।
अनुगमनमा काठमाडौं प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।
काठमाडौं प्रशासनले मंगलवार एक सूचना जारी गरी ८६५ स्थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ । पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ ।
सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर संकलन अभियान समेत जारी छ । अस्पतालले समेत चर्काे शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ ।