
सोमवार सुत्केरी व्यथा लागेपछि संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका–३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।
केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रूपमै शिशु जन्मायो । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो ।
अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।
सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ–३ की उनको सोमवार राति ७ बजे मृत्यु भएको सिलिचोङ–३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी–१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।
स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिए ।
शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो ।
रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका पति बलिराम कुलुङले जानकारी दिए ।