०७ असार २०८३, आइतबार

नेपालमा चाहिएकोभन्दा आधा मात्रै उत्पादन हुँदैछ अक्सिजन

बैशाख २८, २०७८
नेपालमा चाहिएकोभन्दा आधा मात्रै उत्पादन हुँदैछ अक्सिजन
प्रतिकात्मक तस्वीर

नेपालमा अहिले अक्सिजनको उत्पादनभन्दा माग दोब्बर रहेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले संक्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि ७ हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए ।

९ वटा अक्सिजन प्लान्टले दैनिक अक्सिजन उत्पादन गरेका हुन् । ‘दोस्रो लहर निकै संक्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको छ,’ उनले भने, ‘अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर  छ ।’

वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सके मात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । ‘विद्युत्बाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारीमा छौं,’ उनले भने, ‘विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिँदैनौं ।’

उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ । उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको छ । 

‘धेरै बिरामीलाई अक्सिजन चाहिएको छ । उत्पादनको आधारमा पुर्‍याउन सकेका छैनौं,’ उनले भने, ‘अक्सिजनको अभावले मानवीय क्षति हुन नदिन हामी सचेत छौं ।’

नेपालमा उत्पादन कम भएकोले दातृ निकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ । ती तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट ३ सरकारी र ३ निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् । 

सीसीएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पुर्‍याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको छ । – शरद् शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्