
प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेश सभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बुधवार विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन्।
कोभिड–१९ को सङ्क्रमणले मंगलबार उनको निधन भएको थियो ।
प्रधानमन्त्री ओलीले भद्र, शालीन, मिलनसार छवि भएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
'एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ', विज्ञप्तिमा उनले भने ।
चौलागाईं प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षसमेत रहेका थिए ।