०९ साउन २०८३, शनिबार

उपेन्द्र यादवको पक्षमा बहुमत सांसद जुटेको जसपाका सांसद यादवको दावी

बैशाख ३०, २०७८
उपेन्द्र यादवको पक्षमा बहुमत सांसद जुटेको जसपाका सांसद यादवको दावी

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वैकल्पिक सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयत्न जारी रहेको बताएका छन् ।

अहिलेसम्म समाजवादी पार्टी खेमामा वैकल्पिक सरकार निर्माण गर्नका लागि १७ जना सांसदले हस्ताक्षर गरिसकेको र उक्त संख्या बढ्ने क्रममा रहेको उनले बताए।

‘माधव कुमार नेपाल तथा झलनाथ खनाल समूहका सांसदले राजीनामा गरेको खण्डमा हामीहरूको समर्थनमा आउने सांसदको संख्या १७ बाट बढेर २० सम्म पुग्छ,’ सांसद यादवले भने,‘पूर्व राजपा भित्रका केही सांसदहरू नेपाल-खनाल समूहको राजीनामा कुरेर बसिरहेका छन्।’

जसपामा रहेका ३२ सांसद मध्ये बहुमत सांसद एउटा आएकाले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरी दलको नेताको तर्फबाट हस्ताक्षर राष्ट्रपति समक्ष बुझाउने तयारी रहेको उनले खुलाए। 

वैकल्पिक सरकार निर्माणका लागि पार्टीको कार्यकारिणी समितिको बैठकबाट आधिकारिक रुपमा निर्णय गरेर उक्त निर्णयको माइन्यूट पनि राष्ट्रपतिलाई बुझाउने तयारी रहेको उनले खुलाए।

‘अहिले सम्म कार्यकारिणीमा २८ जना सदस्यले हस्ताक्षर गरिसकेका छन,’ पूर्व सपा खेमाबाट सांसद निर्वाचित भएका यादवले लोकान्तरसँग भने,‘कार्यकारिणीमा अझै पनि संख्या बढाउने प्रयत्न जारी छ, त्यो संख्या पनि ३१ सम्म पुग्नेछ।’

एकातर्फ जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नका लगी पार्टीको कार्यकारिणी समिति र संसदीय दल समेतको हस्ताक्षर जुटाउने तयारी गरेका छन्।

अर्को तर्फ जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार निर्माण गर्ने पार्टीको निर्णय नभएको तथा उपेन्द्र यादवले कुनै कागज ल्याए त्यसलाई वैधता नदिन भन्दै हिजो बुधवार राष्ट्रपति निवासमा जानकारी गराइसकेका छन्।

राष्ट्रपति निवासमा ठाकुर र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेर नै इमेल मार्फत पठाएको पत्रबारे जानकारी गराएर उपेन्द्र यादवले हस्ताक्षर गरेर बुझाउने कुनै पनि पत्र आधिकारिक नहुने बताएका थिए।

'म पार्टीको प्रथम अध्यक्ष हो, मैले हस्ताक्षर नगरेको पत्र पार्टीको आधिकारिक पत्र हुँदैन, त्यसैले उपेन्द्र यादवले बुझाउने पत्रलाई आधिकारिकता नदिनुहोला,' राष्ट्रपति भण्डारीसँग अध्यक्ष ठाकुरले गरेको आग्रहलाई उद्धृत गर्दै एक नेताले भने ।

अर्को तर्फ कार्यकारिणीदेखि संसदीय दलमा समेत बहुमत ठाकुरको पक्षमा हस्ताक्षर गरेको जसपाका ती नेताले बताए। 

संविधानको धारा ७६(२) अनुसार वैकल्पिक सरकार निर्माण गर्नका लागि राष्ट्रपति भण्डारीले दिएको समय आज राति ९ बजे सकिनेछ।  
 

salt training

कमेन्ट गर्नुहोस्