०६ असार २०८३, शनिबार
कोरोना संकटका भगवान– स्वास्थ्यकर्मी

‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग २– सेकेन्डभरले ज्यान बच्यो, नत्र...!

बैशाख ३०, २०७८
‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग २– सेकेन्डभरले ज्यान बच्यो, नत्र...!

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आकस्मिक कक्षअगाडि १० जनाभन्दा धेरै बिरामीलाई अक्सिजन दिएर राखिएको छ । 

उमेरले ८० काटेका एक वृद्ध ढोकाकै छेउमा अक्सिजन लिएर बसेका छन् । उनकै पासमा ३ जना आफन्त पनि बसिरहेको देख्न सकिन्छ ।

ती वृद्ध अक्सिजन लिइरहेको अवस्थामा पनि कुराकानी गरिरहेका थिए । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण भएपछि उनलाई बिहान मात्रै टेकु अस्पताल ल्याइएको थियो ।

बिहानदेखि दिउँसो २ बजेसम्म अवस्था सामान्य थियो । अक्सिजन लगाएर बसेका थिए । लगभग २ बजे उनलाई एक्कासि अक्सिजनको कमी भयो ।

अक्सिजन नपुगेर छट्पटिन थाले ।

नजिकै रहेका डाक्टर र नर्सहरू अक्सिजन फेर्न दौडिहाले । एक डाक्टर ह्वीलचेयर खोज्न दौडिए । 

‘अलि फास्ट, अलि फास्ट,’ चिकित्सक र नर्ससहित ५ जना स्वास्थ्यकर्मीको दौडधुपको नतिजा, अक्सिजन फेरियो ।

अक्सिजन पाउने बेलासम्म उनी लल्याकलुलुक भइसकेका थिए । आफन्त र स्वास्थ्यकर्मी मिलेर ह्वीलचेयरमा राखेर भेन्टीलेटरमा लगे ।

कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि लगाएको पीपीईभित्रबाट एक स्वास्थ्यकर्मीको पसिना तपतप चुहिएको प्रस्टै देखियो ।

‘धन्न फास्ट गरियो, नत्र ... ।’ 

मास्क खोलेर उनले पसिना पुछे । फेरि मास्क लगाएर भित्र पसे ।

एकै छिनमा आकस्मिक कक्षका इञ्चार्ज लीलानाथ भण्डारी स्वाँ–स्वाँ गर्दै बाहिर आए । स्वास्थ्यकर्मीहरू भन्दै थिए– ‘२ सेकेन्डले ज्यान जोगियो, नत्र...।’ 

अन्य डाक्टरहरूले पनि केही क्षणपछि मात्र चैनको श्वास फेरे । 

‘आजै मात्र यस्ता २ वटा केस भए । मान्छेको ज्यान बचाउन मात्र २ मिनेट चाहिन्छ,’ उनले लोकान्तरसँग भने ।

केही क्षणमा आफन्त आए । ‘आम्मामा, एकै सेकेन्ड ढिला भएको भए !’ भन्दै लामो श्वास फेरे । 

अस्पतालमा भएका सबै बेडहरू भरिएका थिए ।

५ वटा बेड क्षमता भएको आकस्मिक कक्षमा ४० वटा वैकल्पिक बेड (कुर्सी, टेबल आदि) बनाएर राखिएको छ । 

आकस्मिक कक्षको बरन्डा, गल्लीमा स्टेचरहरूलाई बेड बनाएर बिरामीले श्वास लिइरहेका देखिन्छन् ।

कुनै पनि बिरामी विना अक्सिजन छैनन् ।  

इञ्चार्ज भण्डारीले आकस्मिक कक्ष देखाउँदै भने, ‘ल हेर्नुस्, हामीले आएका बिरामीलाई कसरी व्यवस्थापन गरेका छौं ।’

मिनी भेन्टीलेटरमा बिरामीहरू एकमुठ्ठी श्वासका लागि संघर्षरत देखिन्छन् । 

बिरामीलाई अक्सिजन कमी नहुन दिन कर्मचारीहरू एकएक सेकेन्ड आँखा लगाएर बसिरहेका थिए । 

‘हामीले आएका बिरामीलाई व्यवस्थापन गरेका छौं, फर्काएका छैनौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘हामीसँग अक्सिजनको अभाव छ, त्यसको जोहो गर्न सके अझै धेरै बिरामीको उपचार गर्न सक्छौं ।’

टेकुको पहिला पीसीआर गर्ने ठाउँमा वैकल्पिक व्यवस्था गरेर ३५ जना बिरामी राख्न सक्ने क्षमता विस्तार गरिएको छ । तर अक्सिजन सिलिन्डरको अभाव र जनशक्तिको अभावमा बिरामी राख्न नसकेको भण्डारीले बताए ।

‘अहिले बजारमा अक्सिजन लगाउने मास्कको पनि अभाव छ । हामीसँग जनशक्ति र अक्सिजन भएको भए अन्य बिरामीको पनि उपचार गर्न सक्थ्यौं,’ उनले लोकान्तरसँग भने, ‘३५ जना बिरामीलाई ७० वटा अक्सिजन सिलिन्डर चाहिन्छ ।’

किट सकिएर पीसीआर टेष्ट बन्द

टेकु अस्पतालको गेटैमा टाँसिएको छ– ‘विषेश कारणले अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट दिँदै आएको पीसीआर परीक्षण सेवा बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

कोरोनाभाइरसको संक्रमण तीव्ररूपमा फैलिरहेका समयमा टेकु अस्पतालले पीसीआर परीक्षण किन बन्द गर्‍यो भनेर धेरैले सोध्ने गरेको अस्पताल प्रांगणमै भेटिएका जनस्वास्थ्य विज्ञ डा. शेरबहादुर पुनले बताए ।

‘अहिले हाम्रो अस्पतालमा पीसीआर परीक्षण गर्ने किट सकिएकाले बन्द गरेका हौं,’ डा. पुनले लोकान्तरसँग भने, ‘यसको व्यवस्था भएपछि खोल्छौं ।’

यस्तै अवस्था आउँछ भनेर सर्वसाधारणलाई सचेत गराउँदा गराउँदै भयावह अवस्था आएको डा. पुनले बताए ।

‘हामी (डाक्टर)हरूले मिडियामार्फत सामाजिक दूरीलगायत स्वास्थ्य मापदण्ड नअपनाएको खण्डमा फेरि कोरोना भयावह हुन्छ भन्दै आएका थियौं, ‘डाक्टर पुनले भने, ‘अहिले यस्तो अवस्था आयो ।’

‘कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फेरि फैलिन सक्छ भन्दा विदेशीको डलर खाएर बोल्यो भन्दै केही जमातले गालीगलौज गरे तर, अहिले अवस्था हामीले भने जस्तै आयो,’ डा. पुनले भने ।

तस्वीर : विश्वास खनाल/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्