
नेकपा एमालेको विवाद सहमतिउन्मुख भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार ४ घण्टा लामो वार्ता सकारात्मक बनेको हो ।
बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन सकारात्मक कुराकानी भएको बताए ।
क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ओली र नेपालबीच दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो ।
साँझ सवा ६ बजे बैठकबाट बाहिरिने क्रममा नेता नेपालले आफूले वैशाख २६ गते अगाडि सारेको पत्रका ६ बुँदे मागमा छलफल भएको बताए ।
‘फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र जेठ २ गतेको अवस्थामा फर्किनुपर्छ भन्ने हाम्रो अडान छ । छलफल जारी राख्ने कुरा भएको छ, विभिन्न तहमा कुरा हुन्छ,’ नेता नेपालले भने, ‘जेठ २ गतेको अवस्थामा फर्किने कुरा पोजेटिभ छ । मिल्ने दिशामा बढ्ने अगाडि बढेका छौं ।’
नेता नेपालले सांसदहरूले राजीनामा गर्ने कुरा पनि तत्कालका लागि टरेको बताए ।
यसअघि ओलीको अध्यक्षतामा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको थियो ।