
नुवाकोटको त्रिशूली अस्पतालमा आरटी–पीसीआर परीक्षणका लागि स्वाब संकलन १ हप्ता बन्द हुने भएको छ ।
अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत संकलित नमूना संख्या १ हप्ताको लागि पुग्ने भएकाले संकलन रोकिएको हो ।
स्वास्थ्य कार्यालयले बिहीवार सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको १ हप्तासम्म पीसीआर परीक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ ।
कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल १ हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागि प्राप्त भएको छ । उनका अनुसार जाँच गर्न संकलन गरिएको नमूनाको नतिजा आउन अझै १ हप्ता लाग्ने छ ।
अस्पतालको प्रयोगशालामा १ पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक २ चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना संक्रमणको जोखिम वृद्धि हुँदै गएसँगै परीक्षण गराउने संख्या बढेको छ ।
अस्पतालमा पीसीआर परीक्षण निःशुल्क रहेको छ ।