
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रवार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको बताएका छन् ।
उनले भनेका छन्, 'यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको हो । बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ ।'
उनले शुभकामना सन्देशमार्फत परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन् ।