नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।
नेकपा एमालेको विवाद समाधान उन्मुख भएकोमा एमालेका नेताहरूलाई बधाई दिँदै प्रवक्ता श्रेष्ठले देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्,' नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना । हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ । वैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।'
उनले बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन भन्दै घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने बताएका छन् । उनले भनेका छन्,'तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं ।'