काठमाडौं, १३ पुस– भूकम्पप्रभावित १४ जिल्लामा पुनर्निर्माण सामुदायिक समिति बनाएर छिटो काम गर्न विभागिय मन्त्रीले दिएको निर्देशन स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतले नटेर्दा भूकम्प प्रभावितले अझैं लामो सास्ती पाउने भएको आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले १४ जिल्लाका स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतहरुलाई मंसिर पहिलो साता मन्त्रालयमै बोलाएर पुस १५ गतेभित्र पुनर्निमाण सामुदायिक समिति गठन गरी तत्काल काम अघि बढाउन निर्देशन दिएका थिए । तर, समयसीमा सकिन २ दिन बाँकी हुँदा कुनै पनि जिल्लामा समिति गठन नहुँदा प्रभावितले थप सास्ती पाउने भएका हुन् ।
मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले १४ जिल्लामा कुनै पनि समिति गठन भएको जानकारी नआएको बताए ।