३१ असार २०८३, बुधबार

कोरोना नियन्त्रणबारे निर्णय लिन साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

कोरोना नियन्त्रणबारे निर्णय लिन साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फोटो

कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण सम्बन्धमा निर्णय गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्दैछ ।

साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

सोमवारको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि रहेका कानूनी झन्झट फुकाउने केही निर्णय गर्ने अपेक्षा गरिएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा कानूनी झन्झटका कारण स्वास्थ्य सामग्री खरिदमा समस्या परेको, स्वास्थ्य संस्थाहरूलाई एकीकृत ढंगले परिचालन गर्न कानूनी झमेला भएको जस्ता कुरा उठेका थिए ।

यसअघि मन्त्रिपरिषद् बैठकले वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरे पनि कानूनी झन्झटका कारण सबै अस्पताललाई युनिफाइड कमाण्ड अनुसार सञ्चालन गर्न नसकिएको निष्कर्ष आइतवारको सीसीएमसी बैठकले निकालेको थियो ।

सीसीएमसी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने बताएका थिए । ‘प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्ने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ गर्नुस्,’ ओलीले भनेका थिए । 

मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप खरिदका लागि अग्रीम भुक्तानी दिन सार्वजनिक खरिद ऐनमा रहेको अन्योलताबारे पनि केही निर्णय गर्ने अपेक्षा गरिएको छ । आइतवार सीसीएमसीको बैठकअघि शनिवार प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसँग बालुवाटारमा परामर्श गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्