
विभाजन उन्मुख देखिएको जनता समाजवादी पार्टी तत्कालका लागि नफुटाउने दिशा तर्फ अगाडि बढेको छ। जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ।
जसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरलाई दिएको जानकारी अनुसार आज दुबै जना अध्यक्षको संयुक्त हस्ताक्षरमा पार्टी एकढिक्का रहेको सन्देश दिने गरी प्रेस विज्ञप्ति जारी गरिनेछ। पछिल्लो समयमा दुबै अध्यक्षले छुट्टा छुट्टै पार्टीको नाममा विज्ञप्ति जारी गर्ने गरेका थिए।
‘फुट्न लागेको नेकपा एमाले जुटिसकेको छ, नेपाली कांग्रेसमा पनि धेरै अन्तरविरोध हुँदा हुँदै पनि पार्टी फुटेको छैन भने जसपामा पनि सामान्य अन्तरविरोध हुँदा पार्टी विभाजन गर्न नहुने अवस्थामा दुबै बीच कुराकानी भएको छ,’ ती कार्यकारिणी सदस्यले लोकान्तरसँग भने,‘त्यसको लागि दुबै पक्षले आ-आफ्नो तर्फबाट आरोप प्रत्यारोप गर्ने कुरालाई रोक्दै ‘सिजफायर’को अवस्थामा जाने भन्नेमा ठाकुरजी र उपेन्द्रजी बीच समझदारी कायम गरिएको छ।’
छुट्टा छुट्टै प्रेस वक्तव्य जारी गर्दा पार्टी विभाजन तर्फ गएको, गुट-उपगुट बनेको जस्तो बाहिर सन्देश गएका कारण तत्काल अब वक्तव्य जारी गर्दा दुबै अध्यक्षको संयुक्त हस्ताक्षरमा जारी गर्ने समझदारी बनेको उनले खुलाए।
‘एक अर्कालाई आरोप प्रत्यारोपमा नलाग्न दुबै पक्षले आफू निकटका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने सहमति भएको छ,’ ती नेताले भने,‘सहमति हुन नसकेका विषयहरूमा पछि सहमति कायम गर्दै अगाडि बढ्ने कुरामा दुबै नेता सहमत भएका छन्।’
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलमा चयन भएको कुरा, वैकल्पिक सरकार बनाउने कुरा, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिने कुरामा भने अहिले कुनै सहमति भएको छैन। सहमति कायम गर्न बहुमतको आधारमा जाने वा सर्वसम्मतिको आधारमा जाने भन्ने विषयमा समेत सहमति नभए पनि वार्ता सकारात्मक तरिकाले अगाडि बढेको छ।