०७ साउन २०८३, बिहीबार

भुटानबाट नेपालीलाई विस्थापित गराउने छिरिङलाई जापानले दियो पुरस्कार

जेठ ४, २०७८
भुटानबाट नेपालीलाई विस्थापित गराउने छिरिङलाई जापानले दियो पुरस्कार

जापानले भुटानका पूर्व गृहमन्त्री दागो छिरिङलाई अर्डर अफ र राइजिङ सन नामक प्रतिष्ठित पुरस्कार दिएको छ । 

उनलाई पुरस्कार दिनु भनेको भुटानबाट निर्ममतापूर्वक लखेटिएका दशौं हजार भुटानीहरूको गालामा थप्पड हाने जस्तो भएको भनी द डिप्लोम्याट पत्रिकामा टीपी मिश्रले लेखेका छन् ।  
 

छिरिङले जापान र भुटानबीचको सम्बन्ध तथा मैत्रीलाई बलियो बनाएकोमा पुरस्कार दिइएको भनी नयाँ दिल्लीमा रहेको जापानी राजदूतावासले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

नेपाली मूलका भुटानीहरू यस खबरबाट स्तब्ध भएको मिश्र लेख्छन् । 

सन् १९९० को अगस्ट १७ मा गृह राज्यमन्त्रीको हैसियतमा छिरिङले भुटानको दक्षिणी भागमा रहेका भुटानी तथा तिनको परिवारको नागरिकता बदर गर्ने निर्देशिका जारी गरेका थिए । 

त्यसको एक वर्षपछि छिरिङले नेपाली मूलका भुटानीहरूविरुद्ध अभियान चर्काएका थिए । 

आय सिर्जना गर्ने उद्देश्यले भुटानको दक्षिणी भाग आबाद गर्न तथा संरचना निर्माणमा मजदूरी गराउनका लागि नेपाली मूलका मानिसलाई स्वागत गरिएको थियो । कठोर मेहनत गरेकाले उनीहरूलाई नागरिकता दिइएको थियो । 

आफ्नो मातृभूमिबाट लखेटिएका नेपालीभाषीको नागरिकता समेत बदर गराउने निर्णय आएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । त्यसपछि छिरिङले लुटपाट, आगजनी, छापा, पक्राउ, यातना, बलात्कार तथा देशनिष्काशनको अभियान चलाएर नेपाली मूलका भुटानीलाई राज्यविहीन बनाएका थिए । 

सन् १९९० को इन्डिया टुडे पत्रिकामा छिरिङको विचार स्पष्ट रूपमा उल्लेख छ । उनले भुटानी विद्यालयमा नेपाली सिकाउन बन्द गर्ने निर्णयको व्याख्या गर्दै भनेका थिए, ‘नेपालीहरू हामीसँग भन्दा पनि नेपालसँग बढी आत्मीयता ​राख्छन् ।’

त्यस समयमा भुटानमा नेपाली मूलका मानिसमाथि गरिएको ज्यादतीका बारेमा बाँकी विश्वले त्यति धेरै खबर पाएन किनकि भुटानको मिडिया सरकारको अधीनमा थियो । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र सञ्चारमाध्यमहरूले जातीय नरसंहार गरिएको पनि चाल पाएनन् । त्यसको जानकारी पाएपछि एम्नेस्टी इन्टरनेसनलकी पूर्व अनुसन्धाता इन्ग्रिड मसाजेले यो अत्यन्तै ‘अदृश्य तथा विस्मृत मानवअधिकार मुद्दा’ भएको बताइन् । 

सन् १९९९ देखि २००८ सम्म जापानमा भुटानका राजदूत रहेका छिरिङले दुई देशबीच उच्चस्तरीय भ्रमण तथा सांस्कृतिक आदानप्रदान वृद्धिमा योगदान गरेको भन्दै जापानले पुरस्कार दिएको हो । जापानले दुई देशबीचको यस्तो ऐतिहासिक कूटनीतिक सम्बन्धमा योगदान गर्नेको प्रशंसा गर्नु शायद उचित नै होला ।

तर छिरिङको करीयरको अर्को पाटो भनेको भुटानमा नेपालीभाषीहरूविरुद्धको नरसंहार पनि हो । जापानले छिरिङको त्यस कार्यले पारेको असरलाई पनि बुझ्ने प्रयास गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्