
अरब सागरबाट आएको ताउते चक्रवातका कारण मुम्बई नजिक एक तेल भण्डार जहाज (आयल रिग) र ठूलो मालवाहक डुंगा (बार्ज) मा गरी २९७ जना समुद्रमा फसेका छन् ।
बार्जमा रहेका १४६ जनाको उद्धार गरिएको र बाँकी अझै हराइरहेको खबर द टाइम्स अफ इन्डिया पत्रिकाले दिएको छ ।
भारतीय जलसेनाले आईएनएस तलवार नामक युद्धपोत उद्धारका लागि पठाएको हो । बम्बे हाई फील्ड्स क्षेत्रमा ताउतेका कारण फसेका मानिसको उद्धारकार्य चलिरहेको हो ।
एक अधिकारीका अनुसार, आयल रिग सागर भूषणमा १०१ जना छन् भने बार्ज एसएस–३ मा १९६ जना रहेका छन् ।
तुफानका कारण उच्च लहरहरू आएकाले दुवै जहाजहरू बेस्सरी हल्लिरहेका छन् । तिनीहरू गुजरातको पिपाभाव बन्दरगाहबाट ९० किलोमिटर दक्षिणपूर्वमा रहेको बताइएको छ ।
यसैबीच गुजरातमा ताउतेका कारण तीनजनाले ज्यान गुमाएको त्यहाँका मुख्यमन्त्री विजय रूपाणीले बताएका छन् । राज्यभरि ४० हजार जति रुख ढलेको र १६ हजार ५०० घर क्षतिग्रस्त भएको उनले जानकारी दिए ।