
जनता समाजवादी पार्टी (जसपा) नेपालमा संसदीय दलको नेताको विषयले फेरि विवाद चुलिएको छ। पार्टी एकतायता साविककै दुई पूर्वपार्टी गुटका रूपमा क्रियाशील थिए ।
गुटगत गतिविधि र विवाद बढ्दै जाँदा पार्टी फुटको मुखमै पुगिसकेको थियो । सोही विवादलाई अन्त्य गर्न छलफलमा जुटेका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ३ गते ८ बुँदे संयुक्त वक्तव्य निकाल्दै पार्टी एकता कायम रहेको सन्देश दिएका थिए ।
जसपाका कार्यकारिणी समितिका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको थियो। त्यसबाहेक वर्तमान परिस्थितिका लागि ठोस निर्णय लिने उद्देश्यले बस्न नसकेको कार्यकारिणी समितिको बैठक समेत जेठ ८ गते बोलाइएको छ ।
पार्टी एकता कायम रह्यो भन्ने सन्देश दिएको केही समयपछि संघीय संसद् सचिवालयमा जेठ ४ गते नै जसपा संसदीय दलको नेतामा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई चयन गरिएको पत्र दर्ता भएको सार्वजनिक भएपछि नयाँ तरंग मात्र आएन, सहमतिउन्मुख रहेको जसपामा फेरि नयाँ विवाद उत्पन्न भएको छ। उक्त पत्रका कारण ठाकुर-यादवबीच भएको सहमति भाँडिने खतरा बढेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव भने त्यसरी पत्र पठाउनु एकताको सहमतिलाई ‘काउन्टर’ दिने गलत मनसाय भएको दाबी गर्छन् ।
पार्टीको विधानविपरीत, संसदीय दलको समायोजित विधान समेत स्वीकृत नभएको अवस्थामा एकपक्षीय तरिकाले दलको नेता चयन गरिएको कुरा गलत भएको उनको कथन छ ।
‘पार्टीको कार्यकारिणी समितिको बैठकमा उक्त विधान अनुमोदन भएपछि गठित निर्वाचन समितिले निर्वाचनको प्रक्रिया आह्वान गरेर उम्मेदवारी मनोनयन, दाबी विरोध, मतदान भएपछि दलको नेता चयन हुने कुरा विधानमा उल्लेख छ,’ यादवले लोकान्तरसँग भने, ‘ती सबै कुरा भएपछि मात्र वैधानिक रूपमा दलको नेता चयन हुने हो।’
कसैले मन्दिरमा, सडकमा, होटेलमा, रिसोर्टमा दलको नेता चयन गरेको भनेर संसद् सचिवालयमा पत्र पठाए पनि त्यसले आधिकारिकता नपाउने उनले दाबी गरे ।
‘पार्टी कार्यालयमा औपचारिक रुपले संसदीय दलको नेता चयन गर्नुपर्छ, बहुमत सांसदले जुन नेतालाई चयन गर्छ त्यो नेता हुन्छ,’ यादवले लोकान्तरसँग भने, ‘हरेक सांसद त्यसका लागि योग्य छन्, निर्वाचनको प्रक्रियामा गएपछि को उम्मेदवार हुने, नहुने, बहुमत सांसदले कसलाई चयन गर्ने भन्ने कुरा आउँछ ।’
महतोले पठाएको उक्त पत्रलाई पार्टीले कुनै पनि हालतमा स्वीकार नगर्ने उनले बताए ।
उपेन्द्र यादवले त्यसो भने पनि राजेन्द्र महतोले अब ब्याक नहुने अडान लिएका छन् । पार्टीको विधानअनुसार नै बहुमत सांसदले दलको नेतामा महतोलाई चयन गरेका कारण जुनसुकै परिस्थितिमा पनि अब महतो पछाडि नहट्ने उनी निकट एक सांसदले बताए।
‘पार्टी अध्यक्ष ठाकुरको अध्यक्षतामा पार्टी कार्यालय बबरमहलमा भएको संसदीय दलको बैठकबाट दलको विधान पारित गरेर नै बहुमत सांसदले हस्ताक्षर गरेर दलको नेतामा महतोलाई चयन गरिएको हो,’ ती सांसदले भने, ‘२०७८ साल वैशाख २९ गते पार्टीको विधान पारित भएको थियो र ३१ गतेको संसदीय दलको नेतामा उहाँलाई बहुमत सांसदले चुनेको थियो।’
प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् ।
राष्ट्रिय सभाका ३ जना सांसदसहित अहिले कायम रहेको कुल ३५ जना सांसदमा २२ जना सांसदले महतोलाई दलको नेतामा चयन गरेको ठाकुर-महतो पक्षको दाबी छ ।
साविकको राजपाका महेन्द्र राय यादव बाहेकका १५ जना सांसद, साविकको सपाका उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाज, कल्लू देवी विश्वकर्मा र रेणुका गुरुङ तथा राष्ट्रिय सभाका साविकको राजपाका शेखरसिंह सहित कुल २१ जना सांसदले हस्ताक्षर गरेर महतोलाई नेतामा चयन गरेको उनले बताए।
नेता चयनको काम भक्तपुरस्थित डोलेश्वरनाथ रिसोर्टमा भएको भनेर चर्चा गरिएपनि त्यो कुरा सत्य नभएर साविकको राजपाको पार्टी कार्यालयमा भएको समेत उनले दाबी गरे ।
'३० गते उपेन्द्र यादव पक्षले ठाकुर-महतो निकटका सांसदहरूलाई तान्न मन्त्री बनाइदिने, २ करोड रुपैयाँ दिनेसम्मको प्रलोभन दिन थालेपछि पार्टी कार्यालय बबरमहलमा रहेका सबै सांसदहरूले नै राति ९ बजेसम्मका लागि कहीं सुरक्षित स्थानमा जानुपर्ने प्रस्ताव ठाकुरसमक्ष राखेका थियौं, त्यसपछि हामीहरू भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा बसेका थियौं,’ ती सांसदले भने, ‘बाहिर मिडियामा ती कुराहरू आएपछि कर्टसी मेन्टेन गर्नका लागि एमाले सांसद महेश बस्नेत पुगेका थिए।’
उनले थपे, 'मेरो घरनजिक रहेको तथा मेरै संसदीय निर्वाचन क्षेत्रमा आज तपाईंहरू आउनुभएका कारण मैले यसो सामान्य शिष्टाचार भेट गर्न तथा स्वागत गर्न मात्र आएको भन्दै माननीय बस्नेत त्यहाँ आइपुग्नुभएको थियो,’ ती सांसदले भने, ‘आएको बेला स्मरणमा राख्नका लागि एउटा फोटो पनि खिचौं भनेर उहाँले फोटो समेत लिनुभएको थियो।’
बाहिर त्यही फोटो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आएपछि रिसोर्टमा संसदीय दलको नेता चयन गरिएको भन्नै भ्रम फैलिएको उनको दाबी छ ।
जसपाले वैशाख ३० गते कुल ३० जना डोलेश्वर भिलेज एण्ड रिसोर्टमा बसेबापत वैशाख ३१ गतेका दिन ९० हजार ६१ रुपैयाँ भुक्तानी बिल समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
सहमतिपछि पत्र सचिवालय पुग्दा विवाद
ठाकुर र यादवबीच सहमतिपछि ठाकुर पक्षलाई समेत झुक्याएर मिति हेरफेर गरी संसद् सचिवालयमा पत्र पठाइएको जसपा सांसद मोहम्मद इस्तियाक राईले आरोप लगाए ।
पार्टी एकता हुँदा केही नेताहरूले आफ्नो स्पेस गुमाउने खतरा भएपछि ठाकुरले पहिलेको मितिमा लेखेको पत्रको मितिमा हातले सच्याएर ४ गते बनाइएको कुरा पत्रको व्यहोरामै पनि प्रस्ट देखिएको भन्दै उनले भने, ‘केही नेताहरूले ठाकुर र यादवबीच सहमति भएर पार्टी एकता कायम गर्ने विषयलाई नरुचाएर एकता भाँड्ने नियतले संसद् सचिवालयमा पत्र दर्ता गराए पनि पार्टीले मान्यता दिँदैन ।’
यता महतो पक्षले भने पत्र दर्ता गराउँदा ठाकुरको पनि सहमति रहेको दाबी गरेको छ । ‘उहाँकै हस्ताक्षरसहितको पत्र दर्ता भएका कारण ठाकुरजीले असहमति जनाउने कुरा नै छैन,’ ती सांसदले थपे, ‘पत्र लेखिएको मिति ३ गते थियो, तर ३ गते दर्ता गराउन सकिएन, त्यसको भोलिपल्ट ४ गते संसद सचिवालयमा दर्ता गराउन जाँदा आजकै मिति राख्नुस् भनेर सचिवालयले भने अनुसार टिपेक्स लगाएर ३ गतेलाई ४ गते बनाएर दर्ता गरिएको हो।’
मिति सच्याइएको विषय सामान्य भएका कारण त्यसले कुनै असर नपर्ने तथा संसद सचिवालयले पनि त्यसलाई मान्यता दिनेमा विश्वस्त रहेको उनले बताए ।
महतो पक्षका अर्का एक नेताले भने पार्टीमा अर्को पक्ष पनि छ भनेर सन्देश दिन खोजिएको दाबी गरे ।
‘पार्टीका दुईजना अध्यक्षले जे गरेपनि हुने भन्ने कुरा छैन, पार्टी भित्र तेस्रो नेता पनि छ, उसको पनि सहमति आवश्यक छ भन्ने कुराको समेत जसपामा सन्देश गएको छ,’ ती सदस्यले भने, ‘त्यो कुरा आउने जेठ ८ गतेको बैठकमा पनि प्रस्ट रूपमा देखिने छ ।’
कार्यकारिणी बैठक बोलाइएकै अवस्थामा सरकारमा जाने/नजाने, आफ्नो नेतृत्वमा बनाउने वा प्रतिपक्षमा रहने भन्ने कुराको निर्णय कार्यकारिणी समितिले गर्ने भन्दै उनले भने, ‘त्यो निर्णय गर्न दुई अध्यक्षलाई मात्र अधिकार छैन ।'
त्यसअघि २ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि संसद् सचिवालयमा पत्र पठाएर जसपाको दलको नेता चयन नभएको दाबी गरेका छन् । अब संसद् सचिवालयले कुन पत्रलाई आधिकारिक मान्ला त ? संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भने दुवै पत्रको विषयमा छानबिन हुने बताउँछन् ।
‘संसद सचिवालयमा दुईवटा पत्र आएका छन्, एउटा पत्रमा निर्णय भएको छैन भन्ने कुरा छ भने अर्को पत्रमा दलको नेता चयन गरिएको भन्ने कुरा छ,’ पाण्डेले लोकान्तरसँग भने, ‘दुवै पत्रमा पनि समस्या देखिएको छ, लेटर हेडदेखि चलानी नम्बर समेत नामिलेको हुनाले पत्रको आधिकारिकता विषयमा सचिवालयले छानबिन गरेर मात्र निर्णय लिनेछ।’
दुवै पार्टी एकता भएको ११ महिना हुन लाग्दा पनि साविकको पार्टीका पदाधिकारीको हैसियतमा राजपा र सपाले संसद् सचिवालयबाट सुविधा लिँदै आएका छन्।
‘पार्टी एकीकृत भएर दलको पदाधिकारी चयन गर्ने प्रक्रिया अहिलेसम्म नटुंगिएकाले साविकको राजपा र सपाका दलको नेता र प्रमुख सचेतकलाई सचिवालयबाट सुविधा दिने गरिएको छ,’ पाण्डेले खुलाए।
पहिले नै महतोको नाममा भद्र सहमति भएको दाबी
यसअघि पार्टी एकता हुने बेला नेताहरूको व्यवस्थापन गर्ने बेलामा नै महतोलाई संसदीय दलको नेता बनाउने कुराको भद्र सहमति गरिएको महतो निकट सांसद दाबी गर्छन् ।
सपाबाट दुईजना अध्यक्ष राख्ने कुरा भएपछि राजपाबाट पनि दुईजना अध्यक्ष राख्ने प्रस्ताव गरिएको थियो। संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा उपेन्द्र यादव र राजपाबाट महन्थ ठाकुरलाई अध्यक्ष बनाउने कुरा भएपछि तेस्रो अध्यक्षमा महतोले पनि दाबी गरेका थिए।
‘कार्यकारिणी समितिको अध्यक्षमा महतो र राजनीतिक समितिको अध्यक्षमा उपेन्द्रजीलाई राख्ने कुरा प्रस्ताव गरिएको थियो,’ ती सांसदले भने, ‘त्यसपछि ३ जना अध्यक्ष राख्दा भद्दा हुने भएकाले अहिले तपाईंलाई वरिष्ठ नेता र पछि संसदीय दलको नेता सर्वसम्मत रूपमा बनाउने भनेर भद्र सहमति गरिएको थियो ।’
उक्त सहमति हुँदा सपाका तर्फबाट उपेन्द्र, भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ समेत रहेको उनको कथन छ।
उक्त सहमति भएपछि महतो ब्याक भएका थिए ।
गत वर्षको जेठ २५ गते निर्वाचन आयोगमा दल दर्ताको पत्र पठाउनुभन्दा एक दिनअघि राजपाको संसदीय दलको कार्यालयमा राजपा अध्यक्ष मण्डलको बैठकमा समेत महतोलाई जसपाको संसदीय दलको नेता बनाउने कुरामा उपेन्द्रले प्रस्ताव गरेर भद्र सहमति भएको कुरा ठाकुरले बताएका थिए। त्यति बेलासम्म राजपामा साविकका ६ वटा पार्टीका अध्यक्षहरूको अध्यक्षमण्डल बनाएर पालैपालो संयोजक बन्ने परम्परा थियो। ‘त्यो बैठकमा समेत ठाकुरजीले नै उपेन्द्रको प्रस्तावमा महतोलाई दलको नेता बनाउने कुरामा सहमति भएको बताउनुभएको थियो,’ ती सांसदले बताए।
तर, यसअघि महतोलाई दलको नेता बनाउने विषयमा कुनै पनि छलफल, भद्र वा मौखिक सहमति नेताहरूबीच नभएको उपेन्द्र यादव बताउँछन् ।
‘सबै बकवास कुरा हो, कुनै पनि व्यक्तिलाई दलको नेता बनाउने विषयमा यसअघि कुनै सहमति भएको छैन,’ यादवले लोकान्तरसँग भने,‘यदि उहाँलाई बहुमत सांसदले चयन गर्छ नै भने पार्टीको विधान र संसदीय दलको विधानअनुसार हुने निर्वाचनबाट निर्वाचित हुन कसले रोकेको छ र ?’
यादवले त्यसो भने पनि महतोलाई पार्टीको विधान र संसदीय दलको विधानअनुसार नै नेता चयन गरिएको उनी पक्षधर सांसदहरू बताउँछन् ।
महतो निकट जसपाका एक सांसद जसपाको संसदीय दलको विधान अनुसार नै नेता चयन गरिएको दाबी गर्छन् ।
जसपाको कार्यकारिणी समितिको बैठकबाट संसदीय दलको विधान मस्यौदा गर्नका लागि सांसदहरू अनिल झा र राम सहाय यादवलाई जिम्मेवारी दिइएको थियो। जसपाको पहिलो संसदीय दलको बैठक सिंहदरबारमा बसेका बेला विधानको मस्यौदा पेश पनि गरिएको थियो। ‘तर, उपेन्द्रजीले अचानक यो मस्यौदा कसले तयार पारेको हो, भएन, संशोधन गरेर अर्को बैठकमा पेश गर्नुस् भनेर निर्देशन दिएपछि तत्काल निर्वाचनको विषय प्रवेश नै गरेन,’ ती सांसदले भने, ‘त्यसपछि अर्को बैठकमा संशोधित मस्यौदा सहितको विधान पेश हुँदा पनि पारित भएन।’
पछि त्यही मस्यौदालाई वैशाख २९ गते बसेको जसपाको संसदीय दलको बैठकमा पारित गरेर विधानअनुसार नै महतोलाई दलको नेताका रूपमा बहुमतभन्दा बढी सांसदले चयन गरेको उनले बताए ।