०६ असार २०८३, शनिबार

भारतबाट खोप आउने टुंगो नभएपछि के गर्छ नेपाल ?

जेठ ५, २०७८
भारतबाट खोप आउने टुंगो नभएपछि के गर्छ नेपाल ?

भारतबाट कोरोनाविरुद्धको खोप ल्याएर खोप अभियान चलाएका नेपाल र बंगलादेश अहिले भारतबाट निर्यात ठप्प भएपछि अन्य देशबाट खोप ल्याउनका लागि व्यापक कूटनीतिक पहल गरिरहेको भनी रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 

खोपको स्टक सकिँदै गएको अनि भारतबाट आउने कुनै टुंगो नभएको अवस्थामा कूटनीतिक पहल बढाइएको हो । 

भारतले अक्टोबर महिनासम्म कुनै पनि खोप निर्यात नगर्ने संकेत दिएको छ किनकि उसको आफ्नै जनसंख्यालाई पहिला खोप लगाउनुपर्ने आवश्यकता छ । 

अनि कम आय भएका नेपाल जस्ता मुलुकलाई कोभ्याक्स विश्वव्यापी खोप कार्यक्रममार्फत खोप आउन पनि ढिलासुस्ती भएको छ ।

नेपालले गत जनवरी महिनादेखि खोप अभियान चलाएको थियो । भारतले दिएको तथा कोभ्याक्समार्फत उपलब्ध गरिएको एस्ट्राजेनेकाका साढे २३ लाख डोज खोप सकिएको छ । १५ लाखभन्दा बढी मानिस दोस्रो डोज कुरिरहेका छन् । 

‘६५ वर्षभन्दा माथिका तथा जोखिम समूहका मानिसले पहिलो डोज पाएका छन् र दोस्रो डोज कुरिरहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका प्रमुख झलक गौतमले रोयटर्स समाचार संस्थालाई बताए । 

नेपालले खरिद गरेको १० लाख खोप पनि भारतको सिरम इन्स्टिच्युटले उपलब्ध गराइसकेको छैन । 
 

सिरमले सन् २०२१ को अन्त्यसम्ममा अन्य देशलाई खोप उपलब्ध गराउने बताएको छ । 

नेपालले भारतीय अधिकारीहरूलाई थप खोपका डोज उपलब्ध गराउनका लागि अनुरोध गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । 

‘उनीहरू आफैं समस्यामा परेको भए पनि आपतकालीन आवश्यकतालाई भारतले विचार गर्ने आशा छ,’ उनले रोयटर्सलाई बताइन् । 

भारतको विदेश मन्त्रालयले नेपालको अनुरोधका विषयमा टिप्पणी गरेको छैन । 

त्यसो त नेपालले चीनमा बनेका खोपहरू पनि लगाइरहेको छ तर त्यो पर्याप्त छैन । अनि रुसी खोप ल्याउनका लागि पहल भइरहेको छ र अझै आइपुगेको छैन ।
 

यूनिसेफले कोभ्याक्समार्फत कोभिडविरुद्धका खोपहरू आपूर्ति गरिरहेको छ । उक्त संस्थाका प्रमुखले जी७ मुलुकहरूलाई आपतकालीन उपायका रूपमा खोपहरू उपलब्ध गराउन सोमवार आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्