
नेपाल क्लियरिङ हाउस लिमिटेडले आ.व. २०७६/७७ को आफ्नो नवौं वार्षिक साधारण सभा मिति ५ जेष्ठ २०७८ (१९ मे २०२१)मा जूम प्ल्याटफर्म मार्फत सम्पन्न गरेको छ । हाल विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा अनलाईन मार्फत गरिएको हो ।
बैठकले कम्पनीको चुक्तापूँजी रु. २९.८ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. ४१.१ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।
आ.व. २०७६/७७मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२५ ले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९% बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८%ले कम रहेको छ ।
कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमामिनाहगरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।
बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ संञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने संञ्चालकहरुको कार्यकाल समाप्त भए सँगै ती पदमा हिमालयन बैंक लि.का जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लि. का वरिष्ठउप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लि.का आइ.टि. प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको १०%र बैंक तथा वित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् ।
कम्पनीले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस तथा कनेन्ट आईपीएस भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६/७७मा कुल ९७ खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदानगरिरहेको छ भनेकम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।