
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङलाई स्वास्थ्यका सामग्री उपलब्ध भएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भट्टराईको समन्वयमा काठमाडौंबाट पठाइएको सामान बुधवार जिल्ला अस्पतालमा आइपुगेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट उपलब्ध भएका केही थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, पीपीई, पञ्जा, सर्जिकल मास्क, सेफ्टी चस्मा र स्यानिटाइजर प्राप्त भएको जिल्ला अस्पतालले जनाएको छ ।
थप एन्टिजेन किट र गुणस्तरीय पीपीई समेत संकलन भइरहेको र संकलनपछि जिल्ला अस्पताललाई पठाइने भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।
२ दिनअघि कोभिड नियन्त्रण तथा रोकथामका सन्दर्भमा नेता भट्टराईले ताप्लेजुङका सरोकारवालासँग भर्चुअल छलफल गरेका थिए । छलफलका क्रममा स्वास्थ्यकर्मी लगायतले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएको जनाएका थिए ।
नेता भट्टराईले संक्रमण नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।